भूकम्पपीडित बस्तीमा जाने हो भने देख्न सकिन्छ, त्यहाँ धमाधम जनताले आफू बस्ने घर बनाइरहेका छन् । अनलाइनखबरकर्मी पछिल्लो तीनसाता रामेछाप, दोलखा र ओखलढुंगाका माथिल्ला बस्तीहरुमा पुग्दा जनताका आवास बनिरहेका थिए ।
सडकको पहुँच पुगेका ठाउँमा सिमेण्ड र डण्डी राखेका घरहरु बनिरहेका छन् भने अधिकांश उच्च ग्रामिण भेगमा ढुंगा माटोका परम्परागत घरहरुनै बन्दैछन् । कतिपयले भूकम्पीय जोखिमबाट बच्न पहिलो तल्लाको पर्खाल ढुंगाले लगाएर त्यसपछि काठ प्रयोग गरेका छन् ।
जग प्रमाणित गर्नुस, डेढ लाख लिन जानुस्
जो वास्तविक भूकम्पपीडित हुन् र जसका लागि गाउँमा नबसी विकल्प छैन, उनीहरुले घर निर्माण थालिसकेका छन् । अब उनीहरुको चासोचाहिँ सरकारले दिने भनेको ३ लाख रुपैयाँको दोस्रो किस्ता कहिले पाइन्छ भन्ने देखियो ।
भूकम्प अति प्रभावित ११ जिल्लाका करीव ५ लाख घर परिवारले पहिलो किस्ताको ५० हजार रुपैया लिइसकेका छन् । कतिपय गाउँमा भने विभिन्न कारणले पहिलो किस्ताकै रकम प्राप्त भएको छैन ।
दोस्रो किस्ताको डेढ लाख रुपैयाँ लिन के गर्नु पर्ने हो ?
रामेछापको भुजी गाविसका भोजराज सुनुवारले गरेको प्रश्न हामीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई जस्ताको तस्तै सुनायौं ।
भोजराजजस्तै हजारौं जनताको साझा प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने-यदि तपाईले घर बनाउने घडेरी खारेर जग उठाउनुभयो भने दोस्रो किस्ता बापतको डेढ लाख रुपैयाँ पाउन धेरै झण्झट छैन । मात्र केही कागज प्रमाणित गर्नुपर्छ ।
घर बनाउन जग राखिसकेकाहरुले आफ्नो घरको जग प्राधिकरणले तोकेको मापदण्डअनुरुपको रहेको भनी गाउँमा खटिएका प्राविधिकबाट चेकजाँच गरी प्रमाणित गर्नुपर्छ । त्यसपछि गाविसबाट एउटा फारम भरेर गाविस सचिवबाट सिफारिस हुन्छ ।
गाविस सचिव र प्राविधिकहरुले प्रमाणित गरेको कागजात लिएर गएपछि पहिलो किस्ताको ५० हजार जुन बैंकबाट प्राप्त गरेको हो,त्यहि बैंकबाट दोस्रो किस्ता वापतको डेढ लाख रुपैयाँ लिन सकिने प्राधिकरणले प्रष्ट पारेको छ ।
५० हजार रुपैयाँ लिनका लागि गाउँबाट हुलका हुल मान्छे सदरमुकाम पुगेर दुई तीन दिन लाइन बस्नु परेको तीतो अनुभव दोलखा लापीलाङका चुनक थामीको रहेछ । बल्लतल्ल पाएको पहिलो किस्ताले घरको जग उठाउनै पुगेन ।
दोस्रो किस्ताको डेढ लाख पाउन सानोतिनो युद्ध लडेर हुन्न भन्ने आम जनताको बुझाइ छ । तर, प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवाली भने अब दोस्रो किस्ता लिन हुल जान पनि नपर्ने र जसको घरको जग प्रमाणित भएको हो, उसले कुनै पनि बेला व्यक्तिगत रुपमा गएर वैंकबाट लिन सक्ने बताउँछन् ।
घरको जग उठाएकाहरुले गाउँबाट प्रमाणित गर्नुपर्ने कागजात पुर्याएर ल्याएइमा सम्बन्धित वैंकहरुबाट बिना झन्झट डेढ लाख रुपैयाँ पाउने प्राधिकरणले प्रष्ट पारेको छ । तर, अहिलेसम्म दोस्रो किस्ताको दाबी गर्न कोही पनि सेवाग्राही बैंकसम्म पुगेका छैनन् ।
घर बनाइसकेकाले अढाइ लाख एकमुष्ठ
त्यसोभए यसअघि नै घर बनाइसकेकाहरुले चाहिँ बाँकी रकम एकै चोटि नपाउने ? पीडितहरुले गाउँगाउँबाट उठाएको अर्को प्रश्न यो पनि हो । सरकारको भर पर्दा घर बन्दैन भन्ने बुझेकाहरुले यसअघि नै आफू बस्ने घर बनाइसकेका छन् ।
Prem-Bahadur-Tamang-Ramechhapरामेछापको दुरागाउँमा मात्र एक सय जति घर बनेको तथ्यांक जिल्ला विकास समितिमा छ । यस्तै तथ्यांक भुजी र ठोसेको पनि छ । दोलखाका पनि धेरै गाउँमा घर बनेका छन् ।
बनिसकेका घरहरुको हकमा प्राबिधिकले परीक्षण गरेर भूकम्प प्रतिरोधी प्रमाणित गरेको कागजात पेश गरेमा एकमुष्ठ बाँकी रकम पाउन सक्ने प्राधिकरणले जनाएको छ । त्यसका लागि गाउँमा खटिएका प्राविधिकबाट चेकजाँच गराउन प्राधिकरणले आग्रह गरेको छ ।
गाउँमा जो नियमित बस्छन्,जसको अन्त बस्ने ठाउँ छैन उसैले घर बनाउन हतारो गर्ने हो । यस क्रममा कतिपय प्राविधिक कमजोरी देखिए पनि आधारभूत रुपमा सुरक्षित देखिएका घरहरुको हकमा लचिलो बन्न सकिनेछ ।
शौचालयलाई २५ हजार
घर बनाइसकेका र दोस्रो किस्ता लिएर बनाएपछि तेस्रो किस्ता लिन जानेहरुले शौचालाय भने बनाइसकेको प्रमाणित गर्नुपर्नेछ । अनुदानका रुपमा दिइने ३ लाख रुपैयाँमध्ये २५ हजार रुपैयाँ शौचालयको शीर्षकमा छुट्याइएको छ ।
घर नजिकै वा घरसँगै शौचालय बनाएको पनि सिफारिस भएपछि एकमुष्ठ अन्तिम किस्ता एक लाख रुपैयाँ दिइने नत्र २५ हजार रुपैयाँ शौचालय बनेपछि मात्र दिइने ज्ञवालीले बताए । शौचालय बनाउन बाध्य पार्न यो नीति अपनाइएको हो ।
यसअघि शौचालय बनाइसकेका वा भूकम्पले शौचालय नभत्काएहरुको हकमा भने २५ हजार रोकिने छैन । भूकम्पले चर्काएका ग्रामिण घर मर्मत गरेर बस्न सक्ने गरी प्रमाणित भएको खण्डमा मर्मत गरे बापत ८० हजार रुपैयाँ दिइनेछ ।
घर प्रमाणित गर्ने तीन घेरा
घर भूकम्प प्रतिरोधी बने वा नबनेको प्रमाणित गर्ने काम गाविसमा खटिएका प्राविधकहरुको हो । तर, यसबीचमा प्राबिधिक र सर्वसाधारण दुवै पक्षबाट एक अर्काप्रति गुनासाहरु आएका छन् ।
जबर्जस्ती प्रमाणित र सिफारिस गर्न धम्की दिइएको गुनासो प्राविधिहरुको छ भने जनताको गुनासोचाहिँ प्राविधिकले जाँच नगरेको, पास गरेवापत घुस मागेको लगायतका छन् । यो गुनासो प्राधिकरणसम्म पनि पुगेको छ ।
प्राधिकरणले आवासहरुको निरीक्षणसम्बन्धी कार्य विधि पनि बनाइसकेको छ । पहिलो चरणमा ती घरहरुको निरीक्षण तथा प्रमाणीकरण गाउँमा खटिएका प्राविधिकले नै गर्नेछन् । तर, उनीहरुको कामको सुपरीवेक्षण गर्न जिल्लामा अर्को टोली पनि खटिनेछ ।
त्योभन्दा माथि दातृ निकायका प्रतिनिधिसहितको अर्को प्राविधिक टोली खटिनेछ, जसले स्याम्पल सर्भे गर्नेछ र गलत भएमा रद्द गर्नेछ । गाविसका प्राविधिकलाई प्रलोभन वा दबावमा पारेरमात्र काम नहुने गरी व्यवस्था गरिएको उनले बताए ।
५० हजार पचाउन गाह्रो छ
रामेछापका एक उच्च सरकारी अधिकारीका अनुसार मन्थलीमा पुगेर पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान बुझ्नेमध्ये २० देखि ३० प्रतिशत व्यक्ति पैसा बोकेर काठमाडौं वा अन्य शहरतिर लागिसकेका छन् । सम्भवतः उनीहरुले घर बनाउने छैनन् र अर्को किस्ता बुझ्न आउने पनि छैनन् ।
दोस्रो किस्ता डेढ लाख बुझ्न घरको जग पूरा भएको सिफारिस चाहिने र उनीहरु यसअघिनै गाउँ छाडिसकेका वा घर बनाउन नचाहने भएकाले ५० हजार रुपैया बोकेर शहर पसेका छन् । यो संख्या समग्र ११ जिल्लामा १५ देखि २० प्रतिशत पुग्न सक्ने अनुमान प्राधिकरण स्रोतको छ ।
५० हजार रुपैयाँ लिएर घर नबाउनेको हकमा के हुन्छ ? गाउँतिर सुनिएको अर्को प्रश्न यो पनि हो । हामी यहि प्रश्न लिएर प्राधिकरणमा सिंहदरवारस्थित मुख्यालय पुग्यौं । प्राधिकरणले बनाएको निर्देशिका अनुसार ५० हजार पचाउन धेरै गाह्रो छ ।
प्राधिकरणले घर बनाउनका लागि अनुदान सम्झौता भएको मितिदेखि २ वर्षको समय दिएको छ । २ वर्षभित्र घर नबनाउने र अनुदानको पहिलो किस्ता रकम पचाउनेको हकमा कडा कानुनी व्यवस्था गर्न लागिएको छ ।
त्यस्ता व्यक्तिको तीन पुस्तासहितको नाम पत्रपत्रिकामा छापिने र गाविस नगर कार्यालयमा पठाइनेछ । उनीहरुको नागरिकता, पासपोर्ट, पुलिस रिपोर्ट लगायत सरकारी सिफारिसहरु रोकिनेछन् भने वित्तीय संस्थाहरुमा कालो सूची पठाइनेछ ।
जनताले कर तिरेर जम्मा गरेको, दातृ निकायले पठाएको राज्य कोषको रकम कसैले पनि दुरुपयोग गर्न नसक्ने ज्ञवाली बताउँछन् । जो गरीव छ र वास्तविक पीडित छ, उसले त घर बनाउछ बस्नका लागि ।
पैसा पचाउने नियत राख्नेहरु समाजका प्रतिष्ठित र अन्यत्र घरजग्गा भएकाहरु नै हुन्छन् । उनीहरुको सामाजिक प्रतिष्ठामै असर पर्ने गरी सरकारले कारवाही गर्ने ज्ञवालीले बताए ।
भूकम्पपीडितको दोस्रो किस्ताः जग प्रमाणित गर्नुस्, डेढ लाख लिन जानुस्
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.
